धोनीले फेरी चेन्नईको कप्तानी गर्ने

Jhalkonepal

एजेन्सी ।

रुतुराज गायकवाडको कुहिनोमा चोटका कारण आईपीएल २०२५ को बाँकी सिजनबाट बाहिरिएपछि एमएस धोनीले चेन्नई सुपर किंग्सको कप्तानी गर्ने भएका छन्।

सीएसकेका मुख्य प्रशिक्षक स्टेफन फ्लेमिङले शुक्रबार कोलकाता नाइट राइडर्सविरुद्धको घरेलु खेलको अघिल्लो दिन यस विकासको पुष्टि गरेका हुन्। सिजनको सुरुवातमै चारमध्ये पाँच खेल गुमाएर खराब सुरुवात गरेको सीएसकेका लागि यो ठूलो झट्का हो। हाल उनीहरू अंक तालिकाको नवौँ स्थानमा छन्।

गायकवाडलाई मार्च ३० मा गुवाहाटीमा राजस्थान रोयल्सविरुद्धको खेलका क्रममा चोट लागेको थियो। उनले सीएसकेको असफल रनचेजको दोस्रो ओभरमा तीव्र गतिका बलर तुषार देशपाण्डेको बलमा फ्रन्ट फुटमा निस्कँदा बल छुटाएका थिए, जसले उनको कुहिनोमा चोट लागेको थियो। तर पनि उनले ब्याटिङ जारी राखे र सो खेलमा ६३ रन बनाए। त्यसपछि उनले दुई खेल थप खेले— अप्रिल ५ मा चेन्नईमा दिल्ली क्यापिटल्सविरुद्ध ५ रन र अप्रिल ८ मा मुल्लनपुरमा पंजाब किंग्सविरुद्ध १ रन बनाएका थिए। जारि सिजनमा गायकवाड सीएसकेका दोस्रो सर्वाधिक रन बनाउने खेलाडी थिए, जसमा उनले १५०।६१ को स्ट्राइक रेटसहित १२२ रन बनाएका थिए। आईपीएल २०२४ मा उनी सीएसकेका लागि सर्वाधिक रन बनाउने खेलाडी थिए।

४३ बर्षिय धोनीले यसअघि सन् २००८ देखि २०२४ सम्म सीएसकेको कप्तानी गरेका थिए, त्यसपछि उनले कप्तानी गायकवाडलाई सुम्पिएका थिए। सन् २०२२ मा उनले रविन्द्र जडेजालाई पनि कप्तानी दिएका थिए, तर सिजनको बीचमै खराब प्रदर्शनपछि नेतृत्व पुनः सम्हालेका थिए। धोनीको कप्तानीमा सीएसकेले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा गरि पाँच पटक आईपीएल उपाधि जितेको छ । 


प्रतिक्रिया