काठमाण्डाै,कार्तिक २६
चलचित्र
‘पूर्ण बहादुरको सारङ्गी’ ब्लकबस्टर हुँदा नेपाली चलचित्र उद्योगमा थुप्रै रेकर्ड
बनेका छन् । एकै दिन सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्रको रेकर्ड यो
चलचित्रको नाममा आएको छ ।
शनिबार तीन करोड
८९ लाख ग्रसकलेक्सन गर्दा चलचित्र ‘कबड्डी’ले बनाएको रेकर्ड ब्रेक गर्यो ।‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो रेकर्डले नै ‘कबड्डी’को रेर्डक ब्रेक
गरेको हो । शुक्रबार यो चलचित्रले २ करोड ९९ लाख ग्रसकलेक्सन गरेको थियो ।
‘पूर्ण बहादुरको सारङ्गी’ले अर्को पनि
रेकर्ड बनाएको छ, त्यो हो शो । ‘पूर्ण बहादुरको सारङ्गी’
सबैभन्दा धेरै शो पाउने चलचित्र बनेको छ । यसले एकै दिन ९८ हलमा ४६५ शो पाएको छ ।
यो एकै दिन कुनै चलचित्रले पाएको सबैभन्दा धेरै शो हो ।
यसअघि चलचित्र ‘बेहुली फ्रम मेघौली’ले ३४० शो एकै दिन पाएको थियो । त्यसलाई
‘पूर्ण बहादुरको सारङ्गीले’ ब्रेक गरेको हो ।यो चलचित्रका नाममा अर्को रेकर्ड पनि
बन्ने सम्भावना छ, लाइफटाइम सबैभन्दा धेरै शो पाउने चलचित्र
बन्ने अहिलेसम्मको शो र त्यसमा देखिएको अकुपेन्सीले संकेत गरेको छ ।
थोरै समयमा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्र पनि यही हो । ‘पूर्ण
बहादुरको सारङ्गी’ले १० दिनमा १७ करोड ९८ लाख ग्रसकलेक्सन गरेको छ । यति कलेक्सन
यसअघिका कुनै चलचित्रले पनि गरेका छैनन् ।
अहिलेसम्म छोटो समयमा गरेको धेरै कलेक्सन, अहिले
पाइरहेको शो र यसमा देखिएको अकुपेन्सीले हालसम्मकै नेपालमा धेरै ग्रसकलेक्सन गर्ने
चलचित्र हुनसक्छ । यो सम्भावना देखिएको छ । धेरै निर्माता तथा निर्देशकले कम्तीमा
३० लाख कलेक्सन ‘पूर्ण बहादुरको सारङ्गी’ले गर्ने बताइरहेका छन् ।
बिहान ४ : ४५ देखि राति ११ : ४५ बजेसम्म शो पाउने र हाउसफूल हुने सिनेमाको
रेकर्ड पनि यो सिनेमाको नाममा आएको छ । प्रायः नेपाली चलचित्रकाे अबेर राति र
बिहान ६ बजे अगाडि हुँदैनन् ।
सानो लगानीमा बनेर छोटो समयमा धेरै कलेक्सन गर्ने चलचित्र पनि यही बनेको छ
। ‘पूर्ण बहादुरको सारङ्गी’ १ करोड ३० लाखमा बनेको चलचित्र हो । यसअघि रेकर्ड
बनाउने ‘कबड्डी’ र ‘भष्मे डन’ दुवै ठूलो बजेटमा बनेका चलचित्र हुन् ।
‘कबड्डी’ र ‘भष्मे डन’ दुवै स्टारडम भएका
कलाकार रहेका चलचित्र थिए । तर ‘पूर्ण बहादुरको सारङ्गी’ स्टारडाम नभएका भनिएका
कलाकार रहेर पनि रेकर्ड ब्रेक गर्ने चलचित्र बनेको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ विदेशमा
सबैभन्दा धेरै कमाउने चलचित्र बन्ने सम्भावना पनि उत्तिकै रहेको छ । विदेशका
अधिकांश शो अगाडि नै बुक हुनु, शो थपिनु र शो
थप्न दर्शकको उच्च माग हुनुले यो विदेशमा पनि धेरै कमाउने चलचित्र बन्ने सम्भावना
रहेको छ ।
अमेरिका, अष्ट्रेलियालगायत देशमा रेकर्ड ब्रेक शो
पाउनुले यो सम्भावनालाई बलियो बनाएको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ले बनाएका यी
रेकर्ड तोड्न असम्भव त छैन । तर सहज पनि छैन । त्यसैले यी रेकडै तोड्ने सिनेमा
तत्काल आउला वा समय लाग्ला त्यो भने प्रतिक्षाकै विषय हो ।
सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।
२५ कार्तिक २०८१, सोमबार ०९:०६ मा प्रकाशित