काठमाडौं,जेठ २७
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तरगत आज नेपालले नेदरल्यान्ड्ससँग खेल्ने छ । स्कटल्यान्डमा जारी शृङ्खलामा नेपाल उच्च फर्ममा छ ।
यसअघि नेपालले स्कटल्यान्डसँग भएको दुई खेलमा एकमा विजयी भएको छ भने अर्को खेलमा पराजित भएको छ । नेदरल्यान्ड्ससँग भएको खेलमा नेपाल विजयी भएको छ । लिग–२ मा नेपाल सातौँ स्थानमा छ । नेपालको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
यो सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्यान्डविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै एक बल बाँकी हुँदा एक विकेटको जित निकालेको थियो । स्कटल्यान्डविरुद्धकै दोस्रो खेलमा ३२४ रन पछ्याएको नेपाल ३२१ रन बनाउँदै दुई रनले पराजित हुनपुग्यो । नेपालले नेदरल्यान्ड्सविरुद्ध भने अघिल्लो खेलमा १७ बल बाँकी हुँदा पाँच विकेटको जित निकालेको छ ।
लिग–२ मा अहिले आठ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज हो ।
नेपालले अस्ट्रेलियाका स्टुवार्ट लको प्रशिक्षणमा पहिलो आधिकारिक खेलमा सनसनीपूर्ण जित हात पारेको छ। गत सोमबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई उसकै मैदानमा हरायो।