काठमाडौं , भदौ २५
रुबियल्सले स्पानिस फरवार्ड जेनीफर हेर्मोसोलाई गरेको चुम्बन विवादले अन्ततः स्पानिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियल्सले राजीनामा दिएका छन् ।
महिला विश्वकप फाइनलमा इंग्ल्याण्डलाई १.० ले हराएर स्पेनले उपाधि जितेपछि पुरस्कार वितरण समारोहमा रुबियल्सले स्पानिस फरवार्ड जेनीफर हेर्मोसोलाई चुम्बन गरेका थिए । त्यसपछि ३३ वर्षीया हेर्मोसोले गत मंगलबार यो सहमतिमा नभएको भन्दै रुबियल्सविरुद्ध अदालतमा उजुरी दिएकी थिइन् ।
रुबियल्सले कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई आफूले राजीनामा बुझाएको स्टेटमेन्टमार्फत जनाएका छन् । ‘म मेरो कामलाई निरन्तरता दिन सक्दिन,’ उनले एक टेलिभजन सो मा पिएर्स मोर्गनलाई भनेका छन् । ४६ वर्षीय रुबियल्सले यूईएफएको उपाध्यक्ष पदबाट समेत राजीनामा दिएका छन् । रुबियल्सले चुम्बन आपसी र सहमतिमा भएको बताउँदै आएका थिए तर विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भने उनलाई प्रारम्भिक रुपमा निलम्बन गरेको थियो ।