झापा- जेनजी प्रदर्शनका क्रममा काठमाडौंको महानगरीय प्रहरी कार्यालयबाट लुटिएका दुई थान पेस्तोल झापाको दमकबाट बरामद भएका छन्। यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बरामद हतियारसँगै २० राउण्ड गोली पनि भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेकामध्ये दमक–६ प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देन, दमक–९ का २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली–४ आइतबारेका ३० वर्षीय पवन हाङसुङ्वा छन्।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट प्रहरी नायब निरीक्षक कुमार सोमेस लामिछानेको नेतृत्वमा गएको टोली र दमक इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले दमक–८ मा डेरा गरी बसेका सरोज पुरीलाई राति कोठाबाहिर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो। उनको साथबाट ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान र १५ राउण्ड गोली बरामद भएको ब्युरोले जनाएको छ।
प्रारम्भिक सोधपुछपछि पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ रहेको बयान दिएपछि प्रहरीले उनलाई घरमै पुगेर पक्राउ गर्यो। लिङ्देनले उक्त बन्दुक इलामका पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बेचेको स्वीकार गरेको प्रहरीको भनाइ छ।
त्यसपछि संयुक्त टोली हाङसुङ्वाको बारीमा पुगेको र खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाइएका अवस्थामा ठूलो चापे टाइप–५४ पेस्तोल र पाँच राउण्ड गोली भेटिएको प्रहरीले बताएको छ। पेस्तोलमा खिया समेत लागेको जनाइएको छ।
तीनै जना पक्राउ परेकालाई बरामद दुवै हतियार र २० राउण्ड गोलीसहित थप कारबाहीका लागि काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ।