सुनसरी , चैत्र २
बुढासुब्बा गोल्डकपको उपाधिका लागि न्युरोड टिम (एनआरटी) र एन्फा
मोरङबीच प्रतिष्पर्धा हुने भएको छ । धरान रंगशालामा बिहीबार भएको अन्तिम
सेमिफाइनलमा काँकडभिट्टा फुटबल टेनिङ सेन्टर झापालाई पेनाल्टी सुटआउटमा ५–४ गोल
अन्तरले पराजित गर्दै एनआरटीले एन्फा मोरङसंगको भेट पक्का गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले १–१ गोल गरेपछि खेलको निर्णय
सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा एनआरटीका गोल रक्षक प्रमञ्जय
गच्छदारले उत्कृष्ट बचाउ गरे ।
खेलको अन्तिम समयमा पुजन होनाको ठाउँमा मैदानमा प्रवेश गरेका
गच्छदारले काँकडभिट्टाका विशाल घलानको प्रहार बचाउ गरे । उनले दिवस उराव, विमल घर्तीमगर, अभिषेक गुरुङ र देवेन्द्र तामाङको
प्रहार भने छेक्न सकेनन् । एनआरटीका लागि सरोज तामाङ, जय गुरुङ, शिशिर लेखी, मोहित गुरुङ र सनम लिम्बु गरी पाँचै
जनाले गोल गरे ।
त्यसअघि निर्धारित समयको ४४ औं मिनेटमा फोडेफोफनाले गोल गरेर
काँकडभिट्टालाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट बित्न नपाउँदै अतिरिक्त ३
मिनेट थपिएको समयमा एनआरटीका सरोज तामांगले फ्री-किक मार्फत् गोल गरेर खेललाई
बराबरी ल्याएका थिए ।
पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका दुबै टिमले दोस्रो हमफमा
पाएका अवसरहरुलाई सदुपयोग गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच एनआरटीका सरोज
तामाङ भए । उनले नगद १० हजार पाए । प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ ।
विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।