काठमाण्डौं, बैशाख २
ओमान चलिरहेको एसीसी टि२० प्रिमियर कप अन्तरगत समुह वीको खेलमा आज ओमान र समुह ए को खेलमा साउदी अरेविया विजयी भएका छन ।
आज भएको पहिलो खेलमा ओमानले कम्बोडियालाई ६३ रनले पराजित गरेको छ । पहिले ब्याटिंग गरेको ओमानले निर्धारित ११ ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । जवाफमा कम्बोडियाले ११ ओभरमा ७ विकेट गुमाएर ९१ रन मात्र जोड्न सक्यो । जितसंगै ओमानले २ खेलमा ४ अंक जोड्दै समुह वी को शिर्ष स्थानमा कब्जा जमाएको छ भने युएई समान ४ अंक साथ दोस्रो स्थानमा छ ।
यस्तै आज भएको दोस्रो खेलमा साउदी अरेवियाले बलियो मानिएको हंगकंगलाई ५५ रनले पराजित गरेको छ । पहिले ब्याटिंग गरेको साउदी अरेवियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०२ रन बनाएको थियो । साउदी अरेवियाका अव्दुल वाहिले ५१ बलमा ७७ रन र मनन अलिले १८ बलमा४४ रन बनाएर टिमलाई ठुलो स्कोरमा पुगाएका थिए ।
२०३ रनको लक्ष्य पछ्याएको हंगकंग शुरुवात देखि नै लडखडायो । हंगकंगले १८ औ ओभरमा आफ्ना सबै विकेट गुमाउदा १४७ रन मात्र बनाउन सक्यो । हंगकंगका निजाकत खानले ७३ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन नसके पछि हंगकंगले हार ब्यर्होनु पर्यो । साउदी अरेवियाले समुह चरणमा पहिलो जित निकाल्दै २ अंक जोडेर दोस्रो स्थानमा पुगेको छ भने हंगकंग चौथो स्थानमा रहदै सेमिफाइनलमा पुग्न असजिलो भएको छ । समुह ए मा नेपाल २ खेलमा ४ अंक सहित पहिलो स्थानमा छ । नेपालले हंगकंगसंग भोली प्रतिस्पर्धा गर्नेछ ।