काठमाडौँ , असोज १७
महिला टी–२० विश्वकप क्रिकेट बिहीबारबाट सुरू भएको
छ। टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरू
भएको हो।
प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेशले विजयी
सुरूवात गरेको छ। समूह ‘बी’ मा रहेका बंगलादेशको महिला टोलीले स्कटल्यान्डलाई १६
रनको अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरूवात गरेको हो।
टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २०
ओभरमा ७ विकेटको क्षतिमा ११९ रन जोड्यो। बंगलादेशका लागि सोभना मोस्टरीले सर्वाधिक
३६ रन बनाइन्। त्यस्तै सार्थी रानीले २९, निगर
सुल्तानालो १८ र मुर्सिदा खातुनले १२ रन जोडिन्।
स्कटल्यान्डका लागि सस्किया होर्लेले सर्वाधिक ३
विकेट लिइन्।
१२० रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड निर्धारित २०
ओभरमा ७ विकेट गुमाएर १०३ रनमात्रै बनाउन सक्यो। स्कटल्यान्डका लागि साराह
ब्राईसले सर्वाधिक ४९ रन बनाइन्।
बंगलादेशका लागि रीतु मोनीले २ विकेट लिँदा मरुफा
अख्तर, फहिमा खातुन र रबैया खानले १–१ विकेट लिएकी थिइन्।
आजको दोस्रो खेल समूह ‘ए’ अन्तर्गतको श्रीलंका र
पाकिस्तानबीच हुँदैछ।
कात्तिक ४ गतेसम्म चल्ने प्रतियोगितामा १० राष्ट्रको
सहभागिता छ। प्रतियोगितामा सहभागी टिमहरूलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियासहित
भारत, पाकिस्तान, श्रीलंका
र न्युजिल्यान्ड रहेका छन्। त्यस्तै समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्टइन्डिज, बंगलादेश, स्कटल्यान्ड र इंग्ल्यान्ड रहेका छन्।