काठमाण्डाैं, असार ७
दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८औँ संस्करण अमेरिकामा आज सुरु हुँदैछ ।
पहिलोपटक १६ टोलीले खेल्न लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल एटलान्टामा आज (शुक्रबार) बिहान ५ः४५ बजे अर्जेन्टिना र क्यानडाबीच हुँदैछ ।
अर्जेन्टिनाले सन् २०२१ मा ब्राजिलमा भएको पछिल्लो संस्करणको उपाधि जित्दै सर्वाधिक १५ पटक उपाधि जित्ने उरुग्वेको कीर्तिमान बराबरी गरेको थियो । अर्जेन्टिना यसपटक पनि उपाधि रक्षा गर्दै कोपा अमेरिकाको सर्वाधिक सफल टोली बन्ने लक्ष्यमा छ ।
प्रतियोगिताको १०८ वर्षको इतिहासमा पहिलोपटक कोपा अमेरिकामा १६ टोली सहभागी भएका हुन् । यसअघि यो प्रतियोगितामा १२ टोली सहभागी हुँदै आएका थिए ।
प्रतियोगिताको समूह ‘ए’मा अर्जेन्टिना, पेरु, चिली र क्यानडा रहेका छन् । यस्तै, समूह ‘बी’ मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका छन् । समूह ‘सी’ मा अमेरिका, उरुग्वे, पानामा र बोलिभिया छन् भने समूह ‘डी’ मा ब्राजिल, कोलम्बिया, पाराग्वे, कोस्टारिका रहेका छन् ।