सम्झना खड्काको सानदार ब्याटिङ प्रदर्शनमा नेपनलकाे यूएईमाथि ६ विकेटको जित दर्ता

Jhalkonepal

काठमाडौं, साउन ४ 

श्रीलंकाको दम्बुलामा यूएईमाथि ६ विकेटको जित दर्ता गर्दै नेपाल सन् २०२४ संस्करणको विजयी सुरुवात गरेको छ । ओपनर सम्झना खड्काको सानदार ब्याटिङ प्रदर्शनमा नेपालले एसीसी महिला एसिया कप इतिहासकै पहिलो जित हासिल गरेको हाे ।

शुक्रबार यूएईले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १६.१ औं ओभरमा पूरा गर्यो ।

नेपालका लागि ओपनर सम्झना खड्काले सानदार ब्याटिङ गर्दै ७२ रनको योगदान दिइन् । उनले ४५ बलमा ११ चौका प्रहार गरिन् ।

करिअरको पहिला अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गर्ने क्रममा सम्झनाले ३५ बलमा अर्धशतक पूरा गरेकी थिइन् । उनले त्यसक्रममा ८ चौका प्रहार गर्दै नेपालको इनिङ सम्हालिन् । पुजा महतो ७ रनमा नटआउट रहिन् ।

नेपालका लागि सिता रानामगरले ७, कविता कुँवरले २ तथा इन्दु वर्माले ६ रन जोडिन् । रुविना १० रन जोडेर पेभेलियन फर्कीइन् ।

त्यसअघि नेपालले टस जितेर यूएईलाई पहिलो ब्याटिङ गर्ने निम्तो दिएको थियो । यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोड्यो ।

यूएईका लागि मध्यक्रमकी ब्याटर खुशी शर्माले ३६ रन जोडिन् । उनले ३९ बल खेल्दै २ चौका प्रहार गरिन् । कविशा एगोदागेले २२ रनको योगदान दिइन् । ओपनर इशा ओजा १० रन जोड्दै दोस्रो ओभरमा रनआउट भएपछि यूएई केही दबाबमा थियो ।

तिर्था सतिशलाई ९ र रिनिथा रजिथ ६ रनमा आउट भएपनि यूएईको रन गति रोकिएन । १० ओभरमा ५७-४ को स्थितिमा रहेको यूएईले इनिङको अन्त्यतिर भने चाहेजस्तो रन जोड्न सकेन ।

नेपालका लागि कप्तान इन्दु वर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । कृतिका मरासिनी, सबनम राई र कविता जोशीले १-१ विकेट हात पारे । रुविना क्षेत्रीले ४ ओभरमा १८ रन र सिता रानामगरले ३ ओभरमा १२ रन मात्र खर्चिए ।

नेपालले अब आइतबार पाकिस्तानको सामना गर्नेछ । त्यसपछि मंगलबार समूहको अन्तिम खेलमा नेपाल र भारत खेल्नेछन् । आज साँझ हुने समूहको खेलमा भारत र पाकिस्तान खेल्दैछन् ।

 

प्रतिक्रिया