उदयपुर, माघ ३०
सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द भएको छ । उद्योगका निमित्त महाप्रबन्धक महेश साहका अनुसार उद्योग सँग कच्चापदार्थ खरिद गर्ने पैसा नहुँदा र उद्योगले भुक्तानी गर्नु पर्ने दायित्व झन्डै डेढ अर्ब रुपैयाँ पुगेको र कच्चापदार्थ खरिदमा समस्या हुँदा उद्योग बन्द भएको हो ।
गत मङ्सिर १९ गते देखी उद्योग पूर्ण बन्द भएको उद्योगका निमित्त महाप्रबन्धक साहले जानकारी दिएका छन्।
उता उद्योगको सम्पूर्ण बैङ्क खाता समेत रोक्का भएका छन् । रौता सर्भिसेज प्रालिले सामानको भुक्तानी नदिएको भन्दै काठमाडौँ जिल्ला अदालतमा दर्ता गरेको रिटका कारण उद्योगका बैङ्क खाता रोक्का भएका हुन् । जिल्ला अदालतमा परेको रिटमा सुनुवाइ गर्दै ७ माघमा उदयपुर सिमेन्ट उद्योगका नाममा रहेका सबै बैंकका खाताहरू रोक्का गर्न अदालतले आदेश दिएको हो ।
उद्योगले आपूर्ति तर्फ झन्डै ६५ करोड भुक्तानी गर्न बाकी रहेको छ भने बिधुत महसुलको ३० करोड भुक्तान गर्न बाकि छ । बिगत २८ महिना देखी कर्मचारीको संचयकोष र नागरिक लगानी कोषमा समेत रकम जम्मा हुन सकेको छैन । रिटायर कर्मचारीको ४५ करोड भन्दा माथी भुक्तानी रहेको छ । यी सबै दायित्व जोड्दा करिब डेढ अरब रुपैयाँ उद्योगले भुक्तानी गर्न पर्ने निमित्त महाप्रबन्धक महेश साहले बताए । उनले अहिले रौता सर्भिसेज प्रा.लि.ले सामानको भुक्तानी नपाएको भन्दै रिट दर्ता भएपछि उक्त रिटको सुनुवाई गर्दै अदालतले उद्योगका सबै बैङ्क खाता रोक्का गरेको बताए।
अहिले चालू, पुँजीगत र बचत खाता सबै रोकिएका छन् । संघीय सरकारले दिएको १६ करोडबाट उद्योगमा मर्मत–सम्भारको काम भइरहेको थियो । मर्मत–सम्भार शीर्षकमा सरकारले दिएको १६ करोडबाटै भुक्तानी माग्दै सप्लायर्सका सञ्चालकले मुद्दा हालेपछि उद्योगलाई थप समस्या परेको हो । चालू आर्थिक वर्ष ०८१/८२ उदयपुर सिमेन्ट उद्योग १८ दिन मात्र चलेको थियो ।