बुटवल , बैशाख १९
पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेपछि
बुटवल उपमहानगरपालिकाले नगर भित्रका सबै स्कुलमा बिदा दिएको
छ ।
बुटवल
उपमहानगरले बुधबार सूचना जारी गर्दै वैशाख २० र २१ गते नगरका सबै स्कुलमा बिदा
दिने निर्णय गरेको जनाएको हो ।
केही
दिनयता चलेको तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने
देखिँदा उक्त निर्णय गरेको बुटवल उपमहानगरका प्रमुख
प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा उल्लेख छ ।
वैशाख
महिना सुरू भएदेखि नै रूपन्देही लगायत
तराईका जिल्लामा अत्यधिक गर्मी बढेको छ ।
खेतबारी
र वरिपरिका वनजंगलसँगै बस्तीहरूमा लागेको आगलागी र बिहानैदेखि चल्ने तातो हावाका
कारण जनजीवन कष्टकर बनेको छ ।
केही दिन पहिलेसम्म दिउँसो दुई-तीन बजेदेखि चल्ने गरेको तातो
हावा आइतबारदेखि भने बिहानैदेखि चल्न थालेको छ । तातो हावाका कारण तापक्रम ४३
डिग्रीभन्दा माथि पुगिरहेको छ ।
मंगलबार
भैरहवाको तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसअघि वैशाख ९ गते सबभन्दा
धेरै ४३.६ डिग्री सेल्सियस मापन गरिएको थियो।
यसबाट जोगिन पर्याप्त झोलिलो पदार्थ खान र हावा चलेका समयमा
घरबाहिर ननिस्किन चिकित्सकहरूले आग्रह गरेका छन् ।