सुदूरपश्चिम प्रदेश सभा ३ महिना देखि ठप्प

Jhalkonepal

धनगढी, पौष ४

सुदूरपश्चिम प्रदेश सभा ३ महिना देखि बिजनेसविहीन देखिएको छ । गत असोज ५ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१र०८२ को बजेट पारित भएपछि हालसम्म बैठक बस्न सकेको छैन । प्रदेश सभा सचिवालय धनगढीका सूचना अधिकारी युवराज जैशीले बैठकका लागि ठोस एजेन्डा नहुँदा बैठक बस्न नसकेको जानकारी दिए ।

दुई वटा विधेयक छलफलका लागि विषयगत समितिमा छन्, त्यति मात्रै हो । एउटा स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधा सम्बन्धी र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संशोधन सम्बन्धी विधेयक मात्रै छ ।’ तर, हालसम्म बजेट अधिवेशनको अन्त्य समेत गरिएको छैन । हिउँदे अधिवेशन चल्ने समयमा हालसम्म बजेट अधिवेशन नै अन्त्य नगरिएको हो । पछिल्लो समय सुदूरपश्चिम प्रदेश सभा केवल सरकार फेरबदलमा मात्रै सीमित देखिएको छ ।

मुख्यमन्त्रीहरूलाई समर्थन तथा विश्वासको मत दिनेमा सीमित देखिएको हो । सदन सञ्चालनको दबाब सिर्जनामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भूमिका पनि कमजोर देखिएको छ । तर नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता मानबहादुर धामीले आफूहरूले निरन्तर सरकारलाई दबाब दिए पनि सुनुवाइ नगरेको बताए ।

सरकारले दुई तिहाइको दम्भ देखाएको र सदन प्रति गैरजिम्मेवार बन्दा हालसम्म बजेट अधिवेशन अन्त्य हुन नसकेको बताउँदै उनले बिजनेस पनि दिन नसकेको बताए । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक चक्र मल्लले चाँडै नै सदन चल्ने दाबी गरे । बिजनेसको कुरा सरकारको कुरा रहेको बताउँदै उनले अहिले नै हिउँदे अधिवेशन चल्नुपर्ने भन्ने कुनै कानुनी प्रावधान नरहेको जिकिर गरे ।

प्रतिक्रिया