धनगढी, सावन १२
नागरिक उन्मुक्ति पार्टिले समर्थन फिर्ता लिएका कारण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन् ।
सोमबार प्रदेश सभाको बैठक सकिए लगत्तै बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने निर्णय गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक बिक्रम सिंह धामीले शाहलाई विश्वासको मत दिन ह्वीप पनि जारी गरिएको जानकारी दिए । उनकाअनुसार प्रदेश सभा सदस्यहरुलाई १५ गतेसम्म प्रदेशको अस्थायी राजधानी धनगढी नछाड्न समेत निर्देशन दिइएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि उक्त दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
१२ साउन २०८२, सोमबार ०८:०२ मा प्रकाशित