७ सय केजी गाँजा सहितको ट्रक र २ जना पक्राउ

Jhalkonepal

सुनसरी , वैशाख १८

सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले ७ सय ८३ किलोग्राम गाँजा सहितको ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ।

धरान उपमहानगरपालिका-१३ स्थित निशाने डाँडामा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रक शंकास्पद देखिएपछि चेकजाँच गरिएको थियो।

जाँचको क्रममा ट्रकको ड्राइभर सिटमाथि बक्सा बनाई लुकाइछिपाइ ल्याइएको २२ वटा पोका गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। ट्रकमा पछि फेला परेको नम्बर प्लेट ना ७ ख २८१ रहेको थियो।

उक्त ट्रकसहित चालक सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाको सिदुवा नगरपालिका-६ का १८ वर्षीय आकाश राईलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रित ट्रक, गाँजा र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाका लागि बुधबार राति जिल्ला प्रहरी कार्यालय, इनरुवा सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।


प्रतिक्रिया