सुनसरी, चैत १७
- १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कपको उपाधिको लागि शनिवार चर्च ब्वाइज युनाइटेड र विभागीय टिम त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुदैछ ।इटहरी रंगशालामा साँझ साढे ६ बजे हुने खेलमा दुवै टिम सफलता हात पार्दै उपाधि जित्ने हाेडमाछन ।दुवै टिम सन्तुलित र उत्कृष्ट रहेकाले सम्भावना बराबरी रहेको प्रशिक्षकले बताएका छन ।
आर्मीका प्रशिक्षक मेघराज केसीले पछिल्लो समय उच्च लयमा रहेको चर्च ब्वाइज विरुद्धको खेल चुनौतीपूर्ण रहेको बताए ।चर्च ब्वाइज आयोजक राष्ट्रिय जागृति क्लबलाई १-० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो भने आर्मीले साबिक विजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी सुट आउटमा २-१ गोलको जीत हात पार्दै चर्च ब्वाइजसंगको फाइनल भिडन्त पक्का गरेको हो । क्वाटर फाइनलमा आर्मीले बिर्तामोड युनाइटेडलाई रोकेको थियो । चर्च ब्वाइजले न्यु रोड टिम एनआरटीलाई पराजित गरेको थियो ।
फाइनल खेलको विजेताले नगद १० लाख रुपैयाँ हात पार्नेछ भने उपबिजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनुपर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार रुपैयाँ पाउने छन् ।
१६ चैत २०८०, शनिवार ०१:०६ मा प्रकाशित