काठमाण्डौं, माघ १९
त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो खेलमा पनि नेपाल थाइलैण्डसंग पराजित भएको छ। त्रीवि मैदानमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो।
नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले ६ विकेट गुमाएर १९ ओभरमा पूरा गर्यो ।थाइल्याण्डका तर्फबाट नन्नापात कोन्चरोएन्काइले ६० रन बनाइन्। उनले ५८ बलमा ६ चौका हान्दै नट आउट रहिन्। यस्तै कप्तान नारेउमल चाइवाइले १३ र सुवानन खियाओटोले १४ रन बनाइन्।
नेपालका लागि मनिषा उपाध्याय, कविता कुँवर, रूविना क्षेत्री र कविता जोशीले एकरएक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर १०१ रन बनाएको थियो।
नेपालका लागि कविता कुँवर र बिन्दु रावलले २५र२५ रन बनाए। कप्तान इन्दु बर्माले १५ रन बनाउँदा अरू ब्याटर टिक्न सकेनन्। ओपनर सम्झना खड्का शून्यमै आउट भएकी थिइन्।
दोस्रो जित संगै थाइलैण्ड ४ अंक सहित तालिकाको शिर्ष स्थानमा छ भने नेदरलैण्ड्स २ अंकका साथ दोस्रो स्थानमा छ । आयोजक नेपालले अंक जोड्न सकेको छैन ।