काठमाडौं । विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को पाकिस्तानस्थित ब्रड पिक हिमालमा आएको हिमपहिरोमा निधन भएको छ।
पुर्जा स्थापना गरेको पर्वतारोहण संस्था इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधन भएको पुष्टि गरेको हो।
ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोमा निर्मल पुर्जासहित १० जना पर्वतारोही बेपत्ता भएका थिए। बेपत्ता हुनेमध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए।
यसअघि शुक्रबार चार जना पर्वतारोहीको शव फेला परेको जानकारी सार्वजनिक गरिएको थियो। त्यसपछि इलाइट एक्सपेडले निर्मल पुर्जाको पनि निधन भएको पुष्टि गरेको हो।
निर्मल पुर्जा विश्व पर्वतारोहण क्षेत्रमा साहस, गति र कीर्तिमानी आरोहणका लागि परिचित थिए। उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल अत्यन्त छोटो अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए। उनको निधनले नेपाली तथा विश्व पर्वतारोहण समुदायलाई गम्भीर क्षति पुगेको छ।