झापा, ५ फागुन
झापाको बुद्धशान्ति गाउँपालिका–२ मा आमाले शरीरमा लगाएको आगोमा परी छोरीको मृत्यु भएको छ । गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह प्रयास गर्दा छोरीको मृत्यु भएको हो । आमाको अबस्था समेत गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताउनुभयो । प्रहरीका अनुसार शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन् । घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । आज बिहान छोरी वर्षाको मृत्यु भएको र आमा मायाको अवस्था चिन्ताजनक रहेको गिरीले जानकारी दिनुभयो ।
मायाको शरीरको अधिकांश भाग आगोले जलेको र घटनास्थल नजिकै उनको ‘सुसाइट नोट’ फेला परेको छ । उक्त नोटमा रम्तेलले उनका पति परस्त्रीसँग सम्बन्धमा रहेका कारण बाध्य भई आत्मदाहको निर्णय लिनुपरेको उल्लेख गरेको प्रहरीको भनाइ छ । प्रहरीले अटो रिक्सा चलाएर ज्याला मजदुरी काम गर्दै आएका मायाका पति राजन विकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।