वीरगञ्ज, असार ८
पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले
भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ ।
गैरकानुनीरुपमा भारतीय मल भन्सार छली
चोरीपैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृत भण्डारण गरेर राखेको ५० केजीका सात सय १२
बोरा मल पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका
प्रहरी नायब उपरीक्षक दीपक भारतीले भारतबाट भन्सार छली गरेर अवैध ढङ्गले मल
भित्र्याएर भण्डारण गरिराखेको सूचनाका आधारमा छापामर्दा सो मल बरामद भएको
बताउनुभयो ।
प्रहरीले अवैध मल
भित्र्याएर भण्डारण गर्ने काममा संलग्न रहेको भन्दै नवलपरासी कावासोती नगरपालिका–९
बस्ने ६२ वर्षीय ज्ञानबहादुर महतोलाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रिया अघि
बढाएको छ । बरामद भएको मल पनि शुक्रबार नै भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको
प्रहरीले जनाएको छ । भाडाका घरमा अनधिकृतरुपमा युरिया मल भण्डारण गरेका अवस्थामा
प्रहरीले फेला पारेको थियो ।