विराटनगर, असार ८
कोशी प्रदेशसभाको
आजको बैठकले विनियोजन विधेयक, २०८१ र अर्थसम्बन्धी
प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ बहुमतले
पारित भएको छ ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री
रामबहादुर मगरले आर्थिक वर्ष २०८१/ ८२ को सेवा र
कार्यको लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा
व्यवस्था गर्न बनेको विधेयक, कोशी प्रदेश
विनियोजन विधेयक, २०८१ र कोशी प्रदेश सरकारको अर्थसम्बन्धी
प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयक, २०८१ पेस
गर्नुभएको थियो ।
नेपाली कांग्रेसका
गोपाल तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सविना बजगाईंले प्रस्तुत गर्नुभएको खर्च कटौतीको
प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसअघि विशेष
समयमा नेपाली कांग्रेसका भूपेन्द्र राईले प्रदेश संरचनामा प्रश्न खडा हुननदिन
प्रदेशसभा सचेत हुनुपर्नेमा जोड दिँदै प्रदेशका धेरै ऐनमा त्रुटि भएकाले कार्यान्वयनमा समस्या
हुने बताउनुभयो । “निजामती सेवा ऐन, यातायात सेवा
ऐन, र प्रदेश प्रहरी ऐनमा गम्भीर त्रुटि छन्,” उहाँले
भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी
केन्द्र)का इन्द्रबहादुर आङबोले सार्वजनिक गरेको बजेट सन्तुलित छ भन्नुभयो । अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगन
भएको छ ।