काठमाडौँ, साउन १
पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा
भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङख्या ४० पुग्नुका साथै घाइतेको सङ्ख्या
३४७ पुगेको जनस्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । स्वास्थ्य
कार्यकर्तालाई घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयका
प्रवक्ता सराफत जमान अमरखिलले बताउनु भयो । दुर्घटनामा हताहतको सङ्ख्या बढ्ने
अनुमान गरिएको छ । सोमबार दिउँसो अचानक आएको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी
जलालाबाद, सुख रोड जिल्ला र पाकिस्तानको सिमानामा रहेको प्रान्तका छिमेकी
क्षेत्रहरूमा ठुलो मृत्यु र आर्थिक क्षति पुर्याएको छ । त्यसैगरी, सोमबार बिहान
पूर्वी अफगानिस्तानको कुनार प्रान्तको अधिकांश भाग आकस्मिक बाढीले बगाउदा पाँच
जनाको मृत्यु भएको छ । भारी वर्षा र बाढीले मे देखि युद्धग्रस्त देशमा ४०० भन्दा बढीको
ज्यान लिएको छ भने हजारौंलाई घरबार विहीन बनाएको छ ।