कोशी प्रदेशस्तरीय ट्राफिक सप्ताह २०८२ शुरु

Jhalkonepal

विराटनगर, असार ६

कोशी प्रदेशमा प्रदेशस्तरीय ट्राफिक सप्ताह २०८२ को शुभारम्भ गरिएको छ।

प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरीको संयुक्त आयोजनामा ‘सुरक्षित यात्रा हामी सबैको चाहना, सबैले गरौँ ट्राफिक नियमको पालना’ भन्ने सन्देशससहित ट्राफिक सप्ताह सुरु गरिएको हो।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दीप प्रज्वलन गरी विधिवत रूपमा गरे। उनले कार्यक्रममा ट्राफिक सचेतनामूलक श्रव्यदृश्य सामग्री ‘सुरक्षित यात्रा’ सार्वजनिक गर्नुका साथै सार्वजनिक यातायातका साधनमा यात्रु गुनासो तथा सुझाव संकलनका लागि क्यूआर कोडको स्टिकर टाँस गरे।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले ट्राफिक व्यवस्थापन सुधार र दुर्घटना न्यूनीकरणका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, ट्राफिक कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठ, तथा निमित्त प्रदेश प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीलगायत वक्ताहरूले ट्राफिक सप्ताहको औचित्यमाथि प्रकाश पार्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा आफ्नो धारणा राखेका थिए।

सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यसहित कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा एकैसाथ ट्राफिक सप्ताह सुरु गरिएको हो। आगामी एक सातासम्म हरेक जिल्लामा विविध ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ।

प्रतिक्रिया