महेन्द्रनगर (कञ्चनपुर), असार ७
भीमदत्त नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काउन सक्रियता बढाएको छ । सरकारले गृह मन्त्रालयमार्फत सबै जिल्लामा अतिक्रमणमा गरिएका सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणको पहल सुरु गरेसँगै नगरपालिकाले पनि त्यसको सुरुआत सदरमुकाम महेन्द्रनगरबाट सुरु गरेको हो । भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष सुुशील भट्टले बजार क्षेत्र र आसपासमा मात्रै सार्वजनिक जग्गामा बनाइएका दुई सयभन्दा बढी पक्की घर, सटर र भवनमा नगरपालिकाले डोजर लगाएको बताउनुभयो । गुरुयोजना लत्याएर तत्कालीन महेन्द्रनगर नगरविकास समितिका नेतृत्वहरुले भाडाका नाममा जग्गा वितरण गरेपछि उक्त विषय सर्वोच्च अदालतसम्म पुगेको थियो । अदालतले नै रिट खारेज गर्दै जग्गा खाली गराउन सहज हुने गरी आदेश गरेपछि नगरप्रमुख पदम बोगटीले अतिक्रमित जग्गामा बनेका भौतिक संरचना भत्काउन सुरु गर्नुभएको हो । जिल्ला प्रशासन कार्यालयमा केही समयअघि बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले समेत सार्वजनिक जग्गा अतिक्रमण हटाउने विषयमा समझदारी भएको थियो । केही दिनअघि मात्रै नगरपालिकाले यहाँस्थित होटल ओपेराले भाडामा लिएर बनाएको स्वीमिड पुल र पार्किडस्थलमा समेत डोजर चलाएको थियो । यहाँ केही वर्षयता नगरविकास समितिको जग्गा भाडामा लिएर विभिन्न व्यवसाय गरिरहेकाहरुलाई जग्गा खाली गर्न समय समेत दिइएको थियो । “अटेर गर्नेको हकमा डोजर नै लगाउनु प¥यो”, वडाध्यक्ष भट्टले भन्नुभयो, “अहिले राजमार्ग क्षेत्र वरपरको अतिक्रमण हटाउने काम भइरहेको छ ।” उहाँले बजार क्षेत्रमा लामो समयदेखि बसेका खोकाछाप्रा, सालघारीस्थित इको पार्कको अतिक्रमण र वनखेतस्थित औद्योगिक क्षेत्रमा नाममा लिएको जग्गा खाली गराइने उल्लेख गर्नुभयो । त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले पनि केही दिनअघि झलारी र कलुवापुर बजार क्षेत्रमा पर्ने राजमार्गका सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाएको शुक्लाफाँटा नगरपालिका कार्यालयले जनाएको छ । नगरप्रमुख रणबहादुर महराले अतिक्रमण हटाउन सूचना जारी गरेपनि अटेर गरेकाले अतिक्रमण गरी बनाएका संरचना हटाइएको बताउनुभयो ।