काठमाडौँ, साउन २
नेपाल
क्रिकेट संघ (क्यान)ले एसिया क्षेत्र
अन्तर्गत ‘आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्ट अफ द इयर २०२३’ अवार्ड पाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले ‘एसिया रिजनल विनर’ घोषणा गर्दै क्यानलाई याे अवार्ड दिएको हो
।
नेपाल यसअघि नै एसिया
क्षेत्रको विजेताका रुपमा ग्लोबल अवार्डका लागि छानिएको थियो ।
आईसीसीले
डेभलपमेन्ट अवार्ड अन्तर्गत विभिन्न छ देशलाई छ प्रकारका अवार्ड प्रदान गरेको छ । अवार्ड जितेपछि सामाजिक सञ्जालमा पोस्ट राख्दै क्यानले समर्थकप्रति
आभार प्रकट गरेको छ । “यो सम्मानले हाम्रा फ्यानहरू
लगायत हाम्रा सम्पूर्ण क्रिकेट समुदायको सामूहिक प्रयासलाई प्रतिबिम्बित गरेको छ, जो
वर्षौंदेखि हाम्रो सबैभन्दा ठूलो शक्तिका रूपमा रहेका छन्,” क्यानका सचिव पारस खड्काले भने, “महिला र पुरुष दुवै क्रिकेट
खेललाई प्रवर्द्धन गरेर, हामी नेपालमा जीवन्त र समावेशी
क्रिकेट संस्कृति सिर्जना गर्ने प्रयास गरिरहेका छौं ।” क्यानको डिजिटल रणनीतिले
समर्थकलाई खेल नजिक पुर्याएको खड्काले सुनाए ।
अवार्ड पाउनेमा नेपालसँगै ओमन, मेक्सिको, नेदरल्यान्ड, यूएई र स्कटल्यान्ड जस्ता क्रिकेटमा उदाइरहेका राष्ट्रले पनि विभिन्न अवार्ड पाएका छन् । विभिन्न २१ देशबाट छ ओटा देश विभिन्न छ विधाका अवार्डका लागि छनोट भएको आईसीसीले जनाएको छ ।
फेसबुक च्यानलबाट वर्षभर ४०० प्रतिशतले फ्यानबेस बढेको भन्दै नेपाललाई सो अवार्ड दिएको बताइएको छ ।