खोटाङ, साउन १९
हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, भने १४ जना घाइते भएका छन् ।
प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्ग अन्तर्गत जयराम-हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै आज बिहान करिब ९ बजे दुर्घटना भएको हो ।
दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छैन । माइक्रोबस दुर्घटनाका घाइतेलाई उद्धार गरेर उपचारका लागि एम्बुलेन्समार्फत घुर्मीतर्फ पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिएका छन् ।
दुर्घटनाका घाइतेमध्ये छ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने भएकाले नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रवक्ता गिरीले बताएका छन् । घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचारत आठ जनाको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।
दुर्घटनाग्रस्त माइक्रोबसमा १६ जना यात्रु सवार रहेको खुलेको छ ।