इटहरी , माघ १४
गत मङ्सिर १८ गते रातको २ बजेको समयमा इटहरी उपमहानगरपालिका ९ स्थित नविल बैङ्क इटहरी शाखाको ATM काउन्टरमा एक युवक प्रवेश गरी त्रिशूलले ATM मेसिन फुटाउन थाले ।
पैसा चोरी गर्न ATM मेसिन तोडफोड गर्न थालेको सिसिटिभी फुटेजका आधारमा प्रहरीले चोरी प्रयास गर्दा गर्दै पक्राउ गर्न सफल भयो । ATM मेसिनबाट पैसा चोरी हुन बाट जोगियो ।
यस्तै, गत कात्तिक २८ गते इटहरी ४ बस्ने मनमाया गुरुङको घरको कम्पाउन्ड भित्र राखिएको साइकल चोरी भयो । उनले प्रहरीमा जानकारी गराइन । प्रहरीले सिसिटिभी फुटेजका आधारमा इटहरी उपमहानगरपालिका वडा न. १० डुमरकटा बस्ने ३९ वर्षका मनोज कार्कीलाई चोरी भएको साइकल सहित पक्राउ गर्न सफल भयो । चोरीमा संलग्न कार्कीलाई कानुनी कारबाही भयो ।
यी दुई घटना इटहरीका प्रतिनिधि घटना मात्र हुन । जो सिसिक्यामराका कारण समाजमा हुने आपराधिक तथा अवाञ्छित कार्यलाई रोक्न र शान्ति सुरक्षा कायम गर्न सफल भएका छन् ।
व्यापारिक ट्रान्जिट शहर इटहरी, कोशी प्रदेशकै व्यस्त शहर हो । मानिसहरूको आवतजावतले मात्रै नभएर आर्थिक तथा वित्तीय कारोबार गर्ने मुख्य थलो बनेको छ, इटहरी ।
सुरक्षित शहरमा मात्रै आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधि हुन्छन् । सुरक्षित ठाउँमा नै व्यवसायीक कारोबार गर्न व्यापारी,व्यवसायी,ठुला बैङ्क वित्तीय संस्थाहरू जान्छन् । यस्ता सङ्घ संस्थालाई आकर्षित गर्न र टिकाई राख्न सुरक्षाको प्रत्याभूति दिनै पर्छ ।
शहरको सुरक्षामा संवेदनशील बन्दै इटहरी उपमहानगरले मुख्य दुई पक्षमा जोड दिएको छ । पहिलो, सुरक्षित र शान्त शहर, दोस्रो अपराध न्यूनीकरण र नियन्त्रण ।
झट्ट सुन्दा प्रहरी प्रशासनको काम लागे पनि त्यसमा स्थानीय सरकारले सहयोगीको भूमिका निर्वाह गरेको इटहरी उपमहानगरले बताएको छ ।
उपमहानगरले शहरलाई सुरक्षित राख्न सिसिक्यामरा जडानलाई तीव्रता दिएको छ । सुरक्षा चुनौतीलाई ख्यालमा राख्दै इटहरी उपमहानगरपालिकाले सिसिक्यामरा जडान गर्न थालेपछि सुरक्षित महसुस गर्न थालिएको छ ।
यहाँका व्यापारी, व्यवसायी, बैङ्क वित्तीय संस्था, अन्य व्यवसायीक संस्थाहरूले आफ्ना गतिविधि गर्न सुरक्षित महसुस गर्न थालेका छन् ।
१३ माघ २०८०, आईतबार १२:४१ मा प्रकाशित