काठमाण्डौ, साउन २३
सोमबार रातिदेखि परेको निरन्तर वर्षाका कारण बिहान खसेको पहिरोमा परी बागलुङको बडिगाड
गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ ।
मृत्यु
हुनेमा अधिकांश बालबालिका रहेका छन् । पहिरोमा परेर बागलुङमा ६ बालबालिकासहित ८
जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बागलुङले पुष्टि गरेको छ ।
बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा गएको छुट्टाछुट्टै
पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो । पहिरोमा अझै दुईजना पुरिएको हुनसक्ने
आशंका गरिएको छ । अहिले उद्दार चलिरहेको छ । ४ जनाको भने जीवितै उद्धार गरिएको छ ।
घटनास्थलमा
प्रहरी पुग्न नसकेकाले घटनाको पूर्ण विवरण आउन अझै बाँकी छ । घाइतेको उपचारका लागि
हेलिकप्टरको व्यवस्थापन गर्ने तयारी भैरहेको छ । बडीगाड गाउँपालिका अध्यक्ष गण्डकी
थापा अधिकारीले पहिरोमा परी घाइते भएकाहरुको प्राथमिक उपचारको व्यवस्थापन पालिका
मार्फत भएको र केहि समयपछि उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं लगिने बताएकी
छन् ।
मंगलबार
बिहान खसेको पहिरोमा बडिगाड गाउँपालिका–९ बलघाँसमा खसेको पहिरोले १५ वर्षीय विधान
परियार र २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको मृत्यु भएको सहायक प्रमुख जिल्ला
अधिकारी चित्राङ्गत बरालले बताए ।
त्यस्तै, वडा नं १० को आरुपाटा भन्ने
स्थानमा खसेको पहिरोले स्थाानीय जोगलाल बुढाको घर र गोठ पुरिंदा छ जनाको
घटनास्थलमै मृत्यु भएको छ ।
७ वर्षका
जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन
बुढाको पनि मृत्यु भएको छ । सोही घरमा आएकी छिमेकी सञ्जु बिककी ६ वर्षीया छोरीको
पनि मृत्यु भएको छ । सोही घटनामा ५९ वर्षीया मैतीदेवी बिकको पनि मृत्यु भएको हो ।
प्रहरी र
स्थानीयसहितले बुढाको घर पुरिएको स्थानमा खोजी गर्दा शव भेटिएको हो । बिहान १०
बजेको समयमा खसेको पहिरोले छिमेकी समेत आएको बेला बुढाको घर पुरिएको थियो । घटनामा
अझै कति बेपत्ता छन् भन्ने खुलेको छैन ।
उक्त घटनामा ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा बिक, ३२ वर्षकी सीता थापा र ४२ वर्षीय मंगलसिं बुढा गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्यकेन्द्र बुर्तिवाङ पठाउने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए । कठिन भूगोल, निरन्तर बर्षाका कारण घटनास्थलमा प्रहरी पुग्न सकिरहेको छैन ।
