धनगढी, असार २०
कैलालीमा बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिकामा एक जनाको मृत्यु भएको छ । कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिका नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ । काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको मृत्यु भएकोे बताइएको छ ।
यस्तै कैलालीको कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिनुभयो । बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उहाँले जानकारी दिनुभयो । “वडा नं १ देखि ९ सम्म सबै वडामा रहेका घर डुबानमा परेका छन्, यसरी बाढी घरमा पसेपछि नागरिक आफन्तको घर, उच्च घर, सडकमा निस्केका छन्”, नगरप्रमुख चौधरीले भन्नुभयो, “डुबान क्षेत्रका केही परिवार वनमा बसेका थिए, केही दिनअघि वन विभागले टहरा हटायो, अब कहाँ बस्नुस् भन्ने । पालिकाले हजारौँ परिवार उद्धार गर्नसक्ने अवस्था पनि छैन ।”
यसैगरी लगातारको वर्षापछि कैलारी गाउँपालिका–७ रामपुरमा बाढीको उच्च जोखिम रहेका घरपरिवार र सरसामानलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेकोे प्रहरीले जनाएको छ । रामपुरमा तीन दर्जन बढी घरमा पानी पसेको छ ।
कंचनपुरमा बाढीको त्रास
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरवासीले खाद्यान्न सहित लत्ता कपडाजोगबूढा नदीवारी आफन्तकहाँ राखेका छन् । लत्ताकपडा, हलुका खानेकुरालगायत आवश्यक कागजपत्र राखेर झटपट झोला तयार छन् । ती सामान घरभित्र विगतमा बाढी पुगेकोभन्दा माथितिर सुरक्षित राखिएको छ । बाढीको बेला फसेकाको उद्धारका लागि स्थानीयले निर्माण गरेका दुई ढुङ्गा छन् । “बर्सात सुरु भइसक्यो । कुन बेला बाढी गाउँ पस्छ केही पत्तो हुँदैन । त्यसैले सक्दो पूर्वतयारी गरेका छौँ”, स्थानीय दानबहादुर मगर भन्नुहुन्छ, “बर्सेनि बाढीले सताउँछ ।”
कुतियाकबरमा ४२ परिवारको बसोबास छ । महाकाली नदी र जोगबूढा नदीले घेरिएका यहाँका स्थानीलाई बर्सात लागेसँगै बाढीको चिन्ताले पिरोल्न थालेको छ । महाकाली नदीमा पक्की तटबन्धन नहुँदा बाढी सिधै बस्ती पस्ने गरेको स्थानीय वसन्ती सुनारले बताउँनुभयो । “जमिन कटान भएर बगरमा परिणत भइसक्यो । बाढीले अन्नपात सबै बगाएर लैजान्छ”, उहाँले भन्नभयो, “यो बाढीको समस्याबाट हामीले कहिले मुक्ति पाउँला रु बर्सातमा कुन बेला के हुन्छ भनेर राम्रोसँग खान र सुत्न पाइँदैन ।”
कुतियाकबर भारतसँग सीमा जोडिएको नेपाली बस्ती हो । बाढीको समस्या झेल्दै ज्यानको बाजी थापेर सीमामा नेपाली भूमिको जोगाएर बसेका कुतियाकबरवासीको पीडा सरकारले नसुनेको गुनासो छ । बाढीले ज्यान जोगाउनै मुस्किल पर्ने गरेको स्थानीय टेकबहादुर सुनार बताउनुहुन्छ । “महाकालीमा पक्की तटबन्धन हुँदा केही हदसम्म कटान र बाढीको समस्या कम हुन्थ्यो । तर तटबन्धनको लागि बारम्बार माग गर्दा पनि हाम्रो पीडा कसैले सुनेको छैन”, उहाँले भन्नुभयो ।
लामो समयदेखि सुरक्षित घरको माग गर्दै आएका यहाँका स्थानीयका लागि यसपटक दुई सुरक्षित घर निर्माण भएपछि स्थानीयलाई राहत भएको छ । कुतियाकबरका स्थानीय बासिन्दा बाढी आएका बेला घर छोडेर दोधारा चाँदनी नगरपालिका–७ स्थित अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बस्दै आएका थिए ।