काठमाण्डौं, बैशाख २२
नेपाली क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलम (आदिल अन्सारी) लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी लगाएको प्रतिबन्ध फुकुवा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले हिजो आइतबारदेखि लागू हुने गरी अलराउन्डर अन्सारीको प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको छ।
क्यानको इन्टीग्रिटी समितिले आवश्यक प्रक्रिया पूरा गरी उनको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्दै प्रतिवेदन दिएको छ। समितिको प्रतिवेदनपछि क्यानले उनको प्रतिबन्ध फुकुवा गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन ।
यसअघि क्यानको आयोजना र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको व्यवस्थापनमा गत २०७९ को पुसमा भएको नेपाल टी-२० क्रिकेट लिगका दौरान अन्सारीलाई स्पट फिक्सिङको आरोप लागेको थियो।
त्यसपछि उनलाई कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो।