बैतडी, असार २७
भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध दोस्रोपटक खोलिने भएको छ ।
एनएचपिसी
लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रअनुसार
यही असार २९ गते शनिबार बिहान ६ बजेदेखि ३० गतेसम्म परियोजनाको बाँध खोलिने जनाएको
छ ।
बाँध खोलेका बेला र त्यसपश्चात्का
केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको
बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । एनएचपिसी
लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट
प्राप्त पत्रअनुसार वर्षात्का कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन
वृद्धि भएकाले सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको हो । बाँध खोलेका बेला
नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह
गरिएको छ । बाँध खोलिएपश्चात् महाकाली नदीमा जलसतह बढ्ने खतरा भएकाले नदी वारपार
नगर्न आग्रह गरिएको छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै
भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्नसक्ने भएकाले नदी छेउछाउमा नजान स्थानीय
प्रशासनले अनुरोध गरेको हो । धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध
वर्षात्का बेला हरेक वर्ष खोलिने गरिन्छ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका
लागि जानकारी गराउने गरिएको छ । यसअघि भारतले गएको असार १५ गते बिहान ६ बजेदेखि १६
गते बेलुका ६ बजेसम्म बाँधको ढोका खोलेको थियो । विसं २०७० असार २ र
३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलिँदा दार्चुला सदरमुकाममा सयभन्दा बढी घर
बगाउनुका साथै अर्बौंको क्षति भएको थियो ।