काठमाडौं, कार्तिक १४
नेपाल लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिपको
उपाधिका लागि बाङ्लादेशसँग बुधबार भिड्दै छ।
यसअघि पाँचपल्ट फाइनल पुगेर पनि उपाधिविहीन नेपालले
बुधबार उपाधि भिडन्तमा साबिकको विजेता बाङ्लादेशविरुद्ध चुनौती प्रस्तुत गर्न
लागेको हो। यसअघि नेपाल बलियो टोली भारतविरुद्ध र बाङ्लादेश भुटानमाथि जित
निकाल्दै उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। गत संस्करण पनि नेपाल घरेलु
मैदानमा बाङ्लादेशसँग पराजित हुँदा उपाधिविहीन बनेको थियो। यसपल्ट गत संस्करणकै
झल्को आएको छ। गत संस्करण नेपालले भारत र बाङ्लादेशले भुटानलाई हराउँदै फाइनलमा
स्थान बनाएका थिए। त्यो फाइनल पनि दशरथ रंगशालामा नै भएको थियो।
नेपाललाई सोही मैदानमा हारको बदला लिने अवसर मिलेको छ।
तर, नेपाली महिला टोलीकी कप्तान
एन्जिला तुम्बापो सुब्बाले बदलाभन्दा पनि उपाधि जित्ने लक्ष्यसहित खेल्ने बताएका
छन्। ‘गत संस्करणमा पनि हामी बाङ्लादेशसँग पराजित भएका थियौं। यसपल्ट पनि सोही
प्रतिद्वन्द्वी छ। तर, हामीले बदला लिनेभन्दा पनि
च्याम्पियन बन्ने अवसरका रूपमा लिएका छौं। टोली राम्रो लयमा छ। यसपल्ट जित्न
सकेनौं भने अझै ५–१० वर्ष पर्खनुपर्ने हुन्छ। त्यसैले जसरी पनि उपाधि जित्ने
लक्ष्यका साथ मैदान उत्रिनेछौं,’ एन्जिलाले भनिन्। खेल बेलुकी ६ वजेर ३० मिनेटमा दशरथ रंगशालामा
हुँदैछ ।
१३ कार्तिक २०८१, बुधबार ०९:१४ मा प्रकाशित