काठमाडौं, साउन ५
उत्तरी
चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु भएको छ, भने तीस जनाभन्दा
बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सिसिटिभीले शनिबार जनाएको छ ।
प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै आधिकारिक समाचार एजेन्सी
सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८:४० बजेको भिषण वर्षाले निम्त्याएको
आकस्मिक बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको बताएको छ
।
राजमार्गको
पुल तल नदीमा खसेपछि “लगभग बीसवटा सवारी साधन र तीस जनाभन्दा बढी व्यक्ति” बेपत्ता
भएको सिसिटिभीले बताएको छ । “हालसम्म उद्धार गरिएका पाँचवटा गाडीभित्र ११
जनाको शव फेला परेको हो”, प्रसारणकर्ताले
बताएको छ ।
राज्यको टिभीमा
सार्वजनिक गरिएको तस्बिरहरूमा पुलको आंशिक भाग नदीमा डुबेको देखाइएको छ । उत्तरी र
मध्य चीनमा मङ्गलबारदेखिको निरन्तर वर्षाले यहाँको भूभाग बाढीपहिराेबाट प्रभावित
भएको छ ।