सुभेष सिनाल
काठमाण्डौं, असार १४
भारत आइसीसी टि२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । हिजो राति भएको सेमिफाइनलमा इग्लैण्डलाई ६८ रनले पराजित गर्दै भारत १० वर्ष पछि टि२० विश्वकपको फाइनलमा पुगेको हो । टस हारे पछि पहिले ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो । भारतको लागि रोहित शर्माले ५७ रन बनाए भने सुर्यकुमार यादवले ४७ रनको योगदान गरे । स्टार ब्याटर विराट कोहली यस पटक पनि असफल रहे उनले मात्र ९ रन जोड्न सके । यस्तै हार्दिक पाण्ड्याले २३ र रविन्द्र जडेजाले १७ रन बनाए ।
इंग्लैण्डका तर्फबाट क्रिश जोर्डनले ३ विकेट लिए । यस्तै रिशी टोप्ले, जोफ्रा आर्चर, सेम करन र अदिल रशिलले १,१ विकेट लिए ।
१७२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको इंग्लैण्ड १७ औ ओभरमा १०३ रन बनाएर अल आउट भयो । इंग्लैण्डका हेरी ब्रुकले २५, जोस बटलरले २३ र जोफ्रा आर्चरले २१ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन् । भारतका अक्षर पटेल र कुलदिप यादवले ३,३ विकेट लिए भने जसप्रित बुमराहले २ विकेट लिए ।
जितसंगै भारत १० वर्ष पछि टि२० विश्वकपको फाइनलमा प्रवेस गरेको हो । फाइनलमा भारतले दक्षिण अफ्रिकासंग प्रतिस्पर्धा गर्नेछ । फाइनल शनिबार खेलिनेछ ।