सुनसरी , असोज २४

    आन्दोलनरत धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरूले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् ।

    चिकित्सकहरूले स्वास्थ्य मन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासो सहित मङ्गलवार ज्ञापन पत्र बुझाएका थिए । तर आफूहरूको मागप्रति मन्त्री बस्नेत गैर जिम्मेवार बनेपछि राजीनामा दिनुपरेको प्रतिष्ठानका सहप्राध्यापक डा एसपी रिमालले जानकारी दिनुभयो । प्रतिष्ठानका पदाधिकारीबाट माग सुनवाइ हुन नसकेपछि सामूहिक बिदा लिएर मन्त्रीलाई ध्यानाकर्षण गराउन काठमाडौँ पुगेका १ सय ७७ जना चिकित्सकमध्ये १ सय ४० जनाले राजीनामा दिएको सहप्राध्यापक रिमालले बताउनुभयो ।