कोशी प्रदेशमा पहिलो पटक राष्ट्रिय डोरी तान प्रतियोगिता हुँदै

Jhalkonepal

विराटनगर,  फागुन १३ 


 कोशी प्रदेशमा पहिलो पटक राष्ट्रिय डोरी तान प्रतियोगिता हुने भएको छ ।

कोशी प्रदेश डोरी तान सङ्घले  विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारेमा जानकारी गराएको हो ।

 यही फागुन १८ र १९ गते राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु हुने कोशी प्रदेश डोरी तान सङ्घकी अध्यक्ष रिता न्यौपानेले जानकारी गराउनुभयाे । 

विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्रकुमार कार्कीले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ  । नेपालको पुरानो खेल भए पनि लामो समयदेखि ओझेलमा परेको डोरी तान खेललाई प्रवर्द्धन र विकास गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको दाबी छ ।

प्रतियोगितामा सात प्रदेशका ७ वटा टिम तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाको विभागीय टोली सहित १० टिमले प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयाे  । प्रतियोगितामा विजेता टोलीलाई नगद १ लाख र उपविजेता टोलीले ५० हजार प्राप्त गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङको उपस्थितिमा समापन कार्यक्रममा विजेतालाई नगद सहित मेडल, सिल्ड र प्रमाणपत्र प्रदान गरिने उहाँकाे भनाई छ ।


प्रतिक्रिया