अर्नाको आक्रमणबाट १८ बर्षीया किशाेरीकाे मृत्यु

Jhalkonepal
सुनसरी , माघ २३

सुनसरीको कोशी गाउँपालिका ३ की १८ बर्षीया रञ्जु कुमारी मुखियाको अर्नाको आक्रमण बाट ज्यान गएको छ । घर नजिकै बाख्रालाई घसा काट्न गएकी रञ्जु धेरै बेर सम्म घर नफर्किएपछि उनकी आमा खोज्न जादा बारीमा बेहोस फेला पारेको प्रहरीले जनाएको छ । पेटमा जङ्गली अर्नाले हानेर गंभिर घाइते भएकी मुखियाको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नबिन कृष्ण भण्डारीले जानकारी दिनुभयो । 

घरबाट करिब डेढ किलोमिटर पश्चिम कोसी किनारमा घाँस काट्न पुगेकी रञ्जुलाई आइतबार अर्नाले आक्रमण गरेको थियो। सानो झुण्डमा रहेको अर्नाले भाग्ने क्रममा आक्रमण गरेको बताइएकाे छ । बिहेको एक दिनअघि मात्र भएको यो दुःखद् घटनाका कारण  गाँउनै शाेकमा डुबेकाे छ ।    

कोशीटप्पु वन्यजन्तु आरक्षणका संरक्षण अधिकृत रमेश यादवका अनुसार  पीडित परिवारलाई राहत दिइने जनाइएको छ । आरक्षले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख उपलब्ध गराउँदै आएको छ ।

आरक्ष अधिकृत यादवका अनुसार आर्थिक वर्ष २०७०र७१ देखि हाल सम्ममा अर्नाको आक्रमणमा परि ४ जनाको मृत्यु भएको छ भने ४३ घाइते भएका छन् ।

प्रतिक्रिया