नयाँ दिल्ली — भारतीय क्रिकेट खेलाडी विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत कोहलीले आफूले अब टेस्ट क्रिकेट नखेल्ने निर्णय लिएको जानकारी दिएका हुन्।
कोहलीलाई बीसीसीआइले सन्यास नदिन आग्रह गरे पनि उनले त्यसलाई स्वीकार नगरि सन्यासको घोषणा गरेका हुन ।
३६ वर्षीय कोहलीले १४ वर्ष लामो टेस्ट करियरमा १२३ खेल खेलेका थिए, जसमा उनले ३० शतक र ३१ अर्धशतकसहित ९,२३० रन बनाएका थिए। उनी भारतका चौथो सर्वाधिक रन बनाउने टेस्ट खेलाडी हुन्। कप्तानको रूपमा उनले भारतलाई २०१८-१९ मा अष्ट्रेलियाविरुद्ध ऐतिहासिक टेस्ट शृङ्खलामा विजय दिलाएका थिए।
टेस्ट क्रिकेटमा मैले दिएको सबैभन्दा गहिरो अनुभव र भावनालाई शब्दमा व्यक्त गर्न गाह्रो छ, कोहलीले लेखेका छन्। यो यात्रा मेरो जीवनको अभिन्न हिस्सा रह्यो र अब म यो अध्याय बन्द गर्दैछु।
कोहलीको सन्यास भारतीय क्रिकेटमा अर्को ठूलो परिवर्तनको सङ्केत हो, किनभने हालै मात्र कप्तान रोहित शर्माले पनि टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका थिए। यी दुई दिग्गज खेलाडीहरूको अनुपस्थितिमा भारतले आगामी जुन २० देखि सुरु हुने इङ्ल्यान्डविरुद्धको पाँच टेस्ट खेलहरूको शृङ्खलामा नयाँ पुस्तालाई अघि ल्याउने सम्भावना छ।