काठमाडाैं, जेठ १२
तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना गर्न उच्च अदालतले आदेश दिएकाे छ । असार २ गते बिहान १० बजे सुरू गर्न उच्च अदालत पाेखराले आदेश दिएको हाे ।
मतगणना प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, तनहुँमा रहेका शिलबन्दी मतपत्रसहित कागजात उच्च अदालत पोखरामा झिकाउन र अदालतका रजिष्ट्रारको संयोजनमा पुनः मतगणना गर्न आदेशमा भनिएको छ। यसका लागि लाग्ने खर्च र व्यवस्थापन गर्न पनि निर्वाचन कार्यालयलाई भनिएको छ।
उच्च अदालत, पोखराका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले जेठ १ गते उक्त फैसला गरेको थियो। फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक गरिएको हो। पूर्णपाठमा पुनः मतगणना सकिएपछि प्रतिवेदन इजलासमा पेस गर्न पनि आदेश दिइएको छ।
स्थनीय तहको २०७९ वैशाख ३० गते भएको निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदको मतगणनामा धाँधली भएको भन्दै उम्मेदवार दीपकराज जोशीले उच्च अदालतमा रिट दायर गरे थिए। पुनः मतगणना गरी पाऊँ भनी उनले दिएको रिट निवेदनमा उक्त फैसला भएको हो।