नेपाल र बाङगलादेशबिच जारी महिला कबड्डी शृंखलामा नेपालको तेस्रो जित

Jhalkonepal

काठमाण्डौ, वैशाख १२

नेपाल र बाङगलादेशबिच जारी ५ खेलको महिला कबड्डी शृंखलामा बिहीबार नेपालले तेस्रो जित हात पारेको छ।

पाँचदिवसीय खेलमा ३–१ को जितसँगै नेपालले शृंखला आफ्नो पक्षमा पारेको छ। सातदोबाटोस्थित तेक्वान्दो हलमा भइरहेको शृंखलाको चौथो खेलमा नेपालले बाङ्लादेशलाई २१–१७ अंकले पराजित गर्‍यो। बाङ्लादेशले तेस्रो खेल जितेको थियो।

नेपालकी मानमती विष्ट ‘प्लेयर अफ द म्याच’ बनिन्। उनले ८ अंक जोडिन्। पाँचौं तथा अन्तिम खेल शुक्रबार हुने आयोजक अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए।

नेपालले घरेलु मैदानमा जारी बाङ्लादेशसँगको पाँचदिवसीय महिला कबड्डी टेस्ट शृंखलाको तेस्रो खेलमा भने हार सामना गरेको थियो। उक्त खेलमा नेपाल पाहुना टोली बाङ्लादेशसँग २६–२३ अंकको साँघुरो अन्तरले पराजित भएको हो। पाहुना टोली बाङ्लादेशविरुद्ध पहिलो दुई खेलमा सहज जित निकाल्दै नेपाल शृंखला आफ्नो बनाउने लक्ष्यमा थियो।

नेपालले पहिलो खेलमा ४१–१८ र दोस्रो खेलमा २९–२२ को जित निकालेको थियो। तर, तेस्रो खेलमा भने नेपालले त्यो लय जारी राख्न सकेन। यद्यपि, चौथो खेलमा सफलतासँगै नेपालले शृंखला आफ्नो पक्षमा पार्‍यो। अब वैशाख १२ गते पाँचौं खेल तय हुनेछ। कबड्डीको लोकप्रियता बढेसँगै सुखद नतिजा आएको समयमा नेपालले बाङ्लादेशसँग शृंखला खेलेको हो।


प्रतिक्रिया