काठमाडौँ, कार्तिक ५
नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२०
सिरिज ‘क्लिन स्विप’ गरेको छ। नेपालले टी-२० इतिहासमा कुनै पनि टोलीविरुद्ध पहिलो
पटक सिरिज ‘क्लिन स्विप’ गरेको हो।
सोमबार बिहान डालासस्थित ग्रान्ड प्रेरि क्रिकेट मैदानमा भएको
अन्तिम तथा तेस्रो टी-२० मा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो।
यसअघि नेपालले पहिलो टी-२० १७ रनले
जित्दा दोस्रो टी-२० सुपरओभरमा जित्न सफल भएको थियो। यो सँगै नेपालले विश्वकप लिग
२ अघि बलियो आत्माविश्वास बनाउन सफल भएको छ। क्यानडा भ्रमणमा नेपाली टोली खराब
प्रदर्शका कारण महत्वपूर्ण अङ्कहरु गुमाउन बाध्य भएको थियो।
अन्तिम टी-२० मा टस जितेर पहिले
ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनाएको
थियो। अमेरिकाका लागि सैतेजा मुकामलाले ६८ रन बनाउँदा मिलिन्डा कुमारले ४३ रन
बनाए। त्यस्तै एरोन जोनेसले १३ रन तथा हर्मित सिंहले १० रन बनाएका थिए। नेपालका
लागि सोमपाल कामीले ३ विकेट लिएका थिए।
जवाफमा १ सय ५८ रनको लक्ष्य पछ्याएको
नेपालले उक्त लक्ष्य १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। नेपालको सहज जितमा
आसिफ शेखले ५० रनको अर्धशतकीय इनिङ खेल्दा कुशल मल्ल ४४ रनमा अविजित रहे भने उनलाई
कुशल भुर्तेलले ४० रन बनाएर अविजित साथ दिएका थिए।
त्यसअघि ओपनर अनिल साहा १३ रनमा आउट
भए। अमेरिकाका लागि जुनायो ड्रयसडाली र जसदिप सिंहले समान १-१ विकेट लिए।