काठमाडाैं, साउन २८
एएफसी च्यालेन्ज लिगमा भोलि
भुटानको पारो एफसी र चर्च ब्वाइज युनाइटेड खेल्दैछन । यो खेल त्रिपुरेश्वरको
दशरथ रङ्गशालामा बेलुकी ६ बजे शुरू हुनेछ ।
तीन पटक विश्वकप खेलिसकेका जापानका
केइसुकी होन्डासहित ११ विदेशी खेलाडीको साथ पाएको पारो एफसी चर्च ब्वाइजका लागि
चुनौती बन्न सक्नेछ । नेपालको घरेलु लिगमा सफल विलियम ओपोकीलगायत चर्चित खेलाडी
पारो एफसीले यही प्रतियोगिताका लागि भित्र्याएको छ । यद्यपि चर्च ब्वाइजमा पनि
नेपाली राष्ट्रिय टोलीका धेरैजसो सदस्य छन् । चर्च ब्वाइजले झन्डै एक महिनादेखि यो
प्रतियोगिताका लागि तयारी गरेको छ ।
खेलअघि आज भएको पत्रकार सम्मेलनमा
चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टोलीबाट खेलेका
खेलाडीबीच तालमेल मिलेको र यसले खेलमा प्रभाव ल्याउने बताएका छन् । खेलाडीले आफ्नो
क्षमता र रणनीति अनुरूप खेल्न सके घरेलु समर्थकलाई सुखद नतिजा दिन सक्षम हुने
प्रशिक्षक महर्जनको विश्वास छ । भुटानमा लिग खेलिरहेको पारो एफसी
अहिले शीर्ष स्थानमा छ ।