आइसिसी टी–२० : सुपर–८ मा दक्षिण अफ्रिकाकाे विजय सुरूवात

Jhalkonepal

काठमाण्डाैं , असार ६

दक्षिण अफ्रिकाले नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा पनि विजयी सुरुवात गरेको छ ।

दक्षिण अफ्रिकाले गएराति सम्पन्न खेलमा अमेरिकालाई १८ रनले हरायो ।

जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार पाँचौं जित हो । उसले समूह चरणको चारवटै खेल जितेको थियो । अमेरिकाले सुपर–८ को पहिलो खेलमा राम्रो ब्याटिङका बाबजुद पराजय बेहोर्‍यो । दक्षिण अफ्रिकाले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

उसका लागि आन्द्रेस गौसले उत्कृष्ट पारी खेले । उनले ४७ बलमा पाँच छक्का र पाँच चौकासहित अविजित ८० रनको पारी खेलेका हुन् । यस्तै, हरमीत सिंहले ३८, स्टिभन टेलरले २४ र कोरी एण्डरसनले १२ रन बनाए । दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले तीन, केशव महाराज, तबरेज शाम्सी र एनरिक नोर्टजेले एक/एक विकेट लिए । 

त्यसअघि एन्टिगुआस्थित सर भिभियन रिचर्ड्स स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९४ रन बनायो । उसका लागि ओपनिङ ब्याटर क्विन्टन डिककले अर्धशतकीय पारी खेले ।

उनले ४० बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए । यस्तै, कप्तान एडन मार्कमले ४६, हेनरिक क्लासेनले अविजित ३६ र ट्रिस्टन स्टब्सले २० रनको योगदान दिए ।

अमेरिकाका लागि सौरभ नेत्रावल्कर र हरमीत सिंहले दुई/दुई विकेट लिए । 

प्रतिक्रिया