काठमाण्डाै, फागुन ११
नेपालले फोर नेसन्स कपको अन्तिम लिग खेलमा आइतबार म्यानमारसँग रोमाञ्चक २–२ को बराबरी खेलेको छ । फरवार्ड सावित्रा भण्डारी र सविता रानामगरको गोलमा नेपाल घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा हारबाट जोगिएको हो। बराबरीसँगै नेपाल र मयानमारले एक/एक अंक बाँडेका छन्।
खेलको छैटौँ मिनेटमा नै नेपाल १–० ले पछि परेको थियो। म्यानमारकी म्यान नाई खिनको फ्रिकीक प्रहार नेपालकी गोलरक्षक अञ्जना राना मगरले जोगाउन नसक्दा नेपाल सुरुवातमा नै पछि परेको हो।
तर खेलको ११ औँ मिनेटमा सविता राना मगरको गोलमा नेपाल खेलमा फर्किएको हो। सावित्रा भण्डारीले डिबक्स भित्रबाट दिएको क्रसमा सविताले गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन्।
खेलको १५ औँ मिनेटमा गीता रानाको फ्रिकीक सिधै म्यानमारकी गोलरक्षकको हातमा पुग्यो। १६ औँ मिनेटमा म्यानमारले नेपालविरुद्ध पुनः अग्रता बनायो। स्वी यी थुनको लामो प्रहारलाई मे हेथे वाइको नियन्त्रणमा लिएपनि नेपालकी डिफेन्डर गिता रानाले राम्रो सँग क्लीयर गर्न नसकेको बललाई उनले पोष्टको गति दिएकी थिइन्।
खेलको ४० औँ मिनेटमा साम्बाको गोलमा नेपाल फेरि खेलमा फर्किएको हो। प्रीति राईको पासमा साम्बाले बललाई पोष्टको जाली चुमाएकी थिइन्।
खेलको ६३ औँ मिनेटमा विन थेंगी टनको फ्रिकीक गोलरक्षक अञ्जनाको हातमा पुग्यो। खेलको ७३ औँ मिनेटमा प्रीति राईको फ्रिकीकमा रश्मी कुमारी घिसिङको हेडर सिधै गोलरक्षकको हातमा पुग्यो। लगत्तै रेनुका नगरकोटेको प्रहार किपर कै हातमा पुग्दा नेपालले अग्रताको मौका गुमायो। यसअघि नै फाइनलमा पुगिसकेका नेपाल र म्यानमारले अब उपाधिका लागि बुधबार भिड्नेछन्।
आजको खेलको उत्कृष्ट खेलाडी साम्बा भइन्। उनले २५ हजार रुपैयाँ प्राप्त गरिन्।
१० फाल्गुण २०८१, आईतबार ०८:४६ मा प्रकाशित