एसीसी महिला यू-१९ एशिया कप टी-२०: पाकिस्तानलाई हराउँदै नेपाली टोली विजयी

Jhalkonepal

काठमण्डौं, पुस १

एसीसी महिला यू-१९ एशिया कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाली टोलीले पाकिस्तानलाई हराउँदै विजयी शुरूआत गरेको छ।

मलेशियाको क्वालालम्पुरमा सोमबार भएको खेलमा नेपालले पाकिस्तानलाई छ विकेटले पराजित गरेको हो। पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले चार विकेटको क्षतिमा १९ ओभरमा पूरा गरेको हो।

नेपालका लागि पूजा महतोले ४७, सोनी पाख्रिनले १३, सीमा केसीले १२ र साना प्रवीनले १० रन बनाए। पाकिस्तानका लागि फतिमा खान र क्वारातुलैनले एक-एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको पाकिस्तानले पाँच विकेटको क्षतिमा १०४ रन बनाएको थियो। पाकिस्तानका लागि कोमल खानले ३८, महाम अनिजले २९, रविल फरहानले १३ र जुफिसान अय्याजले १२ रन बनाए। नेपालका लागि पूजा महतोले दुई, रचना चौधरी, रिया शर्मा र सीमा केसीले एक-एक विकेट लिए।

यो जितसँगै नेपालले दुई अंक जोडेको छ। प्रतियोगिताको अर्को खेलमा नेपालले मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा नेपालसँगै भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने श्रीलंका, बाङ्लादेश र मलेशिया समूह ‘बी’ मा छन्।

प्रतिक्रिया