राष्ट्रिय क्रिकेट टोलीको लागि नयाँ प्रशिक्षक खोज्दै क्यान, मोन्टीको सम्झौता नविकरण नहुने

Jhalkonepal

काठमाण्डौं, माघ १९

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि नयाँ प्रशिक्षक खोज्ने भएको छ । नेपाली टोलीलाई ठुलो सफलता दिएका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने क्यानले जनाएको छ । क्यानका प्रवक्ता छुम्बी लामाले मुख्य प्रशिक्षक मोन्टीसँगको सम्झौताको दुई वर्ष समाप्त भएको र क्यानले उनीसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको जानकारी दिए। नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया यथाशीघ्र थाल्ने पनि लामाले जानकारी दिए।

मोन्टी गत वर्षको माघमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। देसाई मुख्य प्रशिक्षक भएयता नेपालले एकदिवसीय मान्यता जोगायो। आइसिसी विश्वकप लिग(टु का पछिल्ला १२ मध्ये ११ खेल जित्दै सनसनी मच्चायो। प्रशिक्षक नियुक्ति भएको दुई महिनामै मोन्टीको नेतृत्वमा नेपाली क्रिकेटको साख फर्कियो। कठिन मानिएका १२ मध्ये ११ खेल जितेपछि नेपालको एकदिवसीय मान्यता चार वर्षका लागि जोगिएको थियो।

लिग -टुमा उत्कृष्ट खेलपछि नेपालले सन् २०२३ को एसिसी प्रिमियर कपमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो। नेपालमै आयोजनामा भएको प्रिमियर कप च्याम्पियन बन्यो। प्रिमियर कपको उपाधिसँगै नेपालले एसिया कपमा छनोट भयो। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। 

गत वर्ष नेपालले मोन्टीकै नेतृत्वमा अर्को उपलब्धि हासिल गर्‍यो। छनोट पार गर्दै नेपालले दोस्रो पटक टी-२० विश्वकपमा स्थान पक्का गर्‍यो। घरेलु मैदानमा भएको छनोट पार्दै नेपाल सन् २०२४ को आइसिसी टी-२० विश्वकपमा छनोट भयो।

गत जुनमा अमेरिका र वेस्ट इन्डिजमा भएको आइसिसी टी-२० विश्वकपमा नेपालले अद्भूत खेल देखायो। नेपालले दक्षिण अफ्रिका र बंगलादेशलाई समूहमा चरणमा कडा टक्कर दिएको थियो। तर दुवै खेलमा अन्तिममा चुक्दा नेपाल जित निकाल्न असफल भयो।

तर मोन्टीको प्रशिक्षणमा पछिल्ला प्रतियोगितामा भने नेपालले खराब प्रदर्शन गरिरहेको छ। लिग-टुमा ८ खेल गुमार २ मा मात्र जित निकालेको छ भने  टि२०मा पनि नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन । 

प्रतिक्रिया