काठमाडौँ, वैशाख ६
प्रतिकूल मौसमका कारण आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले निराशा भोग्नुपर्ने अवस्था बनेको छ । नेपाल र अफगानिस्तान बीच आज शनिबार निर्णायक खेल हुँदैछ ।अर्को वर्ष जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।
अफगानिस्तानलाई बराबरीले पनि पुग्छ । तर मूलपानीमा शुक्रबारदेखि नै वर्षा भएकाले खेल हुने सम्भावना भने कम छ। मूलपानी क्रिकेट मैदान वर्षाले पूर्ण रुपमा भिजेर पानी जमेको हुनाले खेल सञ्चालन हुने सम्भावाना कम छ। मसिनो वर्षा अझै रोकिएको छैन । बिहान ९ बजे टस हुने कार्यक्रम रहेको थियो । तर पिचसहित मैदानको आधा भाग कभरले पूर्ण रुपमा ढाकिएको छ । नतिजा आउनका लागि कम्तिमा २०–२० ओभरको खेल हुनुपर्छ ।त्यसका लागि कम्तिमा दिउँसो २.३० बजे खेल सुरु हुनुपर्छ । अहिलेको स्थितिमा त्यो सम्भावना पनि निकै मुस्किल देखिन्छ ।