काठमाडौँ, असार १५
टी–२० विश्वकप क्रिकेटको उपाधि
भारतले जितेको छ । फाइनलमा विश्वकप क्रिकेटको अभागी टिम दक्षिण अफ्रिकालाई ७ रनले
पराजित गर्दै भारतले उपाधि जितेको हो ।
समूह चरणमा दक्षिण अफ्रिकाले नेपालमाथि मात्र एक
रनको जित हासिल गरेको थियो । त्यस्तै बंगलादेशलाई चार रनले हराएको थियो ।
भाग्यशाली हुँदै पहिलो पटक फाइनलमा पुगे पनि भारतमाथि भने दक्षिण अफ्रिकाले जित
हासिल गर्न सकेन ।
फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ७
विकेटको क्षतिमा १७६ रन बनायो ।
विराट कोहलीले ५९ बलमा ७६ रन बनाए । कोहलीसँग
चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्ने क्रममा अक्षर पटेलले ३१ बलमा ४७ रन बनाए
।
त्यस्तै पाँचौँ विकेटका लागि कोहलीसँग ५७ रनको
साझेदारी गर्ने क्रममा शिवम दुबेले १६ बलमा २७ रन बनाए ।
केशव महाराज र एन्रिच नोट्जेले २–२ विकेट लिए ।
जवाफमा दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १६९
रन बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि हेन्रिच क्लासेनले २७ बलमा
५२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
भारतका लागि हार्दिक पाण्डेयाले ३ तथा अर्शदीप
सिंह र जसप्रित बुमराहले २–२ विकेट लिए ।
भारतको यो टी–२० को दोस्रो विश्वकप उपाधि हो ।
यसअघि भारतले टी–२० विश्वकपको पहिलो संस्करण सन् २००७ मा जितेको थियो ।