मोरङ, फाल्गुन १८
मोरङको बेलवारी नगरपालिका १ आज बिहान भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।२ जना घाईते भएका छन् । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको प्रदेश १ -०२-००१ ख ९६७६ नम्बरको टिपरले बिपरीत दिशाबाट आऊँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिंदा टिपर अनियन्त्रित भई सोहि दिशा तर्फ आउदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिएको थियाे ।
दुर्घटनामा बोलेरोमा सवार ५ जना घाईते भएका थिए । घाईतेहरुलाई उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा बोलेरो चालक बिर्तामोड नगरपालिका २ झापाका ३६ बर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका २ का ५२ बर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका ४ की ४४ बर्षीया दिपा खानालको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।
घाईते भएका बिर्तामोड २ की ४८ बर्षीया गायत्री भट्टराई र बिर्तमोड ४ का ४६ बर्षीय हरि खनालको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । दुर्घटना भएको टिपर चालक सुन्दरहरैचा नगरपालिका ७ मोरङका २३ बर्षीय चन्द्र कुमार बि.क र बस चालक सुन्दरहरैचा १२ का ४५ बर्षीय छत्र कुमार मास्केलाई ईलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।