काठमाण्डाैं, साउन ३०
‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी
भएका सशस्त्र प्रहरी क्लबका तीन जना महिला भलिबल खेलाडीहरूलाई बुधबार सम्मान गरिएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमका बिच
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती
चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता
भट्टलाई सम्मानित गरेका हुन् ।
अर्यालले लामो समयदेखि सशस्त्र प्रहरी
क्लबमा आबद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरूमा सहभागी भई
उत्कृष्ट खेल प्रदर्शन गरी देश र संगठनको छवि उच्च राख्न खेलेको महत्त्वपूर्ण
योगदानको कदर गर्दै उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।
उक्त लिग तथा अन्य भलिबल प्रतियोगितामा
समेत उत्कृष्ट प्रदर्शन गर्दै आएकी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट
सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको छ ।
बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी
बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका सशस्त्र प्रहरी वरिष्ठ
उपरीक्षक रमेश कुमार पाण्डेले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरेको सशस्त्र
प्रहरीले जनाएको छ ।
यसअघि २२औं सशस्त्र प्रहरी दिवस–२०७९ को
अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार
पदमा पदोन्नति गरिएको थियो ।